काभ्रे ।समुदाय-प्रहरी-साझेदारी कार्यक्रम अन्तर्गत जेष्ठ २८ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं. ०७ को धुलिखेल नगरपालिकाको सभाहलमा नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नगर प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यमा तथा उप-प्रमुख निराजन जंगम ज्यूको बिशेष आतिथ्यतामा नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रमको पहिलो चरणमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी ज्यूले स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित हुनु भएका धुलिखेल नगरपालिकाको नगर प्रमुख, उप-प्रमुख, सम्पूर्ण वडाका वडा अध्यक्ष, वडा सदस्य र कार्यपालिकाका सदस्य ज्यूहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भई काभ्रेपलाञ्चोक जिल्लाको समग्र बस्तुस्थिति, अपराध अनुसन्धानको क्षेत्रमा सम्पादन गरिएका कार्यहरुको प्रगति विवरण सहितको प्रस्तुतीकरण गर्नु भएको थियो ।
कार्यक्रमको दोश्रो चरणमा उपस्थित जनप्रतिनिधी तथा नागरिकहरुबाट प्रहरी काम कारवाही, सडक दुर्घटना न्यूनिकरण, अबैध जुवा तास नियन्त्रण, घरेलु मदिरा बिक्री बितरण र सेवन, आत्महत्या न्यूनिकरणमा प्रहरीको भुमिका, चोरी लुटपाट, सडक बत्ती, घरेलु हिंसा न्यूनिकरण लगायतका विषयबस्तुमा उठेका गुनासोहरुको कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी ज्यूले सम्बोधन गर्नु भई प्रमुख अतिथि नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ ज्यूले जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम राख्न प्रहरीले कानुन बमोजिम गर्ने अपराध नियन्त्रण र अनुसन्धान, बिभिन्न सचेतनामुलक कार्यक्रमहरुलाई सफल बनाउन नगरपालिका तयार रहेको र जिल्लाको समग्र शान्ति,सुरक्षा र अमनचयन कायम राख्ने कार्य प्रहरीको मात्र नभई सबैको साझा कर्तव्य रहेको कुरा समेत व्यक्त गर्नु भएको थियो भने कार्यक्रमका बिशेष अतिथि नगर उप-प्रमुख ज्यूले नव निर्वाचित जनप्रतिनिधीहरुले स्थानिय प्रहरी कार्यालयसंग समन्वय र सहकार्य गरी काम कारवाही गरेमा गाउँ नगर र वडाको शान्ति सुरक्षा कायम राख्न सकिने कुरा व्यक्त गर्नु भई कार्यक्रम समापन गर्नु भएको थियो ।
कार्यक्रममा धुलिखेल न.पा का नगर प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठ,उप प्रमुख निराजन जंगम, धुलिखेल नगरपालिकाका नव निर्वाचित १ देखि १२ नम्बर वडाका वडा अध्यक्षहरु, सामुदायिक बिद्यालयका प्रधानध्यापक तथा शिक्षक, पत्रकार, नागरिक समाज, स्थानिय जनसमुदाय लगाएत प्रहरी कर्मचारीहरु समेत गरी ८१ जनाको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक रजोश घिमिरे ज्यूले गर्नु भएको थियो ।
- न्युज काभ्रे संवाददाता